जिल्ला प्रहरी कार्यालय पर्साले एक विवाहित युवतीलाई जबरजस्ती परिवारको जिम्मा लगाएको छ। वीउमनपा वडा नं. १० पानीट्याङकी निवासी विवेक साह र...
जिल्ला प्रहरी कार्यालय पर्साले एक विवाहित युवतीलाई जबरजस्ती परिवारको जिम्मा लगाएको छ।
वीउमनपा वडा नं. १० पानीट्याङकी निवासी विवेक साह र सोही स्थान निवासी सिनु हर्षवालबीच एक साताअघि प्रेम विवाह भएकोमा आज प्रहरीले सिनु हर्षवाललाई जबरजस्ती परिवारसँग जान सहमत भएको भनी कागज गराएर पठाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्सामा छोरीलाई बेपत्ता पारेको भनी झूटो विवरण दिएका सिनुका पिता इन्द्रा हर्षवालको उजुरीको आधारमा पर्सा प्रहरीले इन्द्रा हर्षवाल र विवेकका परिवारलाई आज जिल्ला प्रहरी कार्यालयमा बोलाएको थियो।
एक साताअघि प्रेम गरेर बेपत्ता भएका विवेक र सिनुले आफूहरू दुवैले मन्दिरमा भगवान्लाई साक्षी राखी विवाह गरेको प्रहरीलाई बताएका थिए ।
आफूहरू वैवाहित भएको र एकाअर्कासँग बस्न राजीखुशीले सहमति रहेको बताउँदा पनि प्रहरीले एकतर्फीरूपमा सिनु हर्षवालका परिवारको तर्फबाट महिला प्रहरी लगाइ सिनुलाई यातना दिएर जबरजस्ती कागजातमा सही गराएर परिवारको जिम्मा लगाएका थिए ।
परिवारका सदस्यहरूले प्रहरी कार्यालयबाटै सिनुलाई जबरजस्ती गाडीमा राखेर लगेका थिए। सिनुले परिवारसँग जान आपत्ति जनाइरहँदा पनि प्रहरीको सहयोगमा परिवारका सदस्यहरूले सिनुलाई जबरजस्ती गर्दा जिप्रकामा केहीबेर तनाव उत्पन्न भएको थियो।
सिनुको आपत्तिको बावजुद उनलाई परिवारको जिम्मामा लगाइएको विवेककी आमाले बताइन्।
जिप्रका पर्साका प्रनाउ वासुदेव खतिवडाले केटा र केटीको विवाह गर्ने उमेर नपुगेकाले दुवैलाई आ–आफ्नो परिवारको जिम्मा लगाएको बताए।
उनले सार्वजनिकरूपमा कुटपिट गरी सिनुलाई परिवारका सदस्यहरूले जबरजस्ती लगेको कुरा अस्वीकार गरे ।

COMMENTS